२९ जेठ, काठमाडौं ।
विक्रम बस्नेत (नाम परिवर्तन) नेपाली सेनामा भर्ती भएको १४ वर्ष भयो। अवकासप्राप्त ‘जरसाप’ का अर्दली हुन् उनी। सात वर्षदेखि उनी एउटै घरमा छन्। आफ्नो पोस्टिङ भएको ब्यारेक विक्रमले देखेकै छैनन्।
सेवा–सुविधा उनी काठमाडौंमै बुझ्छन्। जहिलेदेखि जरसापको घरमा अर्दली बनेर गए, त्यसै दिनदेखि उनले सेनाको जवानले दैनिक गर्नुपर्ने व्यायम गर्न भ्याएका छैनन्। सैनिक तालिम पनि गर्न छाडे। अल्छी मानेर होइन, नभ्याएर।
‘घरका मान्छे नउठ्दै आफू उठिसक्नुपर्छ, सबै घरधन्दा भ्याउनुपर्छ,’ नाम उल्लेख नगर्न सम्झाउँदै विक्रम भन्दै थिए, ‘चियादेखि खाना पकाउने, कपडा धुने, भाँडा माझ्ने, घरका साना बालबालिकालाई स्कुल पुर्या उनेदेखि किनमेलसम्म भ्याउनुपर्छ।’
उनको कार्यालय नै सेनाको ब्यारेक वा गण होइन, जरसापकै घर–कम्पाउन्ड हो। अधिकांश समय जरसापलाई अफिसियल काममा सघाउने होइन, उनका परिवारलाई घरेलु काममा सघाउनमै बित्ने गरेको नागरिक दैनिकमा खबर छ।
बिहान उठ्यो, चियानास्ता तयार पार्योन। घरका सबै सदस्यलाई खुवायो। त्यसपछि खाना पकाउने, खुवाउने र भान्सा सफा गर्ने। अनि घर सरसफाइ र बगैंचा गोडमेलको पालो। मैला कपडा धुने। पाहुनाको स्वागत। तरकारी, फलफूल किनमेल। दिउँसो खाजा तयार पार्ने, अनि राति सबैलाई खुवाएपछि आफू खाने। त्यसपछि भान्सा सफा गरेर सुत्ने। सात वर्षदेखि उनको दैनिकी यसरी नै चल्दैछ।
यो अर्दली भनेको के हो? उनलाई नै थाहा छैन। अकमकिँदै भन्छन्, ‘घरको काम गर्ने भनेको होला।’ जागिर सेनामा भए पनि उनी जरसापकोमा घरेलु कामदार छन्, तलब भने राज्यको ढुकुटीबाट पाउँछन्।
विक्रम नेपाली सेनामा कार्यरत एक्ला अर्दली होइनन्। उच्च सैनिक स्रोतका अनुसार सेनामा ४ हजारभन्दा बढी तल्लो तहका सैनिक जवान उच्च सैनिक अधिकृतका घरमा अर्दलीका रूपमा कार्यरत छन्। अफिसियल काममा सहयोग पुर्याजउने भन्दै उच्च सैनिक अधिकृतहरूलाई अर्दली दिइए पनि धेरैजसो घरेलु काममा प्रयोग गराइन्छ। बहालवालालाई मात्र होइन, अवकासप्राप्त उच्च सैनिक अधिकृतलाई समेत अर्दली दिने चलन छ।
व्यवस्थापिका संसद राज्यव्यवस्था समितिले उच्चपदस्थ व्यक्ति, भूपू सैनिक र बहालवाला अधिकृतहरूको सुरक्षार्थ खटाइएका पदिक र जवानहरूलाई घरेलु कामदारका रूपमा प्रयोग गरे दण्डनीय बनाउने सम्बन्धमा आवश्यक कानुन तर्जुमा गर्न सरकारलाई निर्देशन दिए पनि न सेनाले अर्दली राख्न रोकेको छ, न अर्दलीलाई घरेलु कामदार बनाउने सैनिक अधिकृतलाई कारबाही नै भएको छ ।
