पत्रकार ऋषि धमला आक्रामक अन्तरवार्ता लिन शिपालु छन्, चाहे अन्तरवार्ता दिने व्यक्ति क्रिकेट खेलाडीका कप्तान हुन् या राजनीतिज्ञ । धमलाले बिहीबार बिहान नेपालवाणीमा एमाओवादी नेता डा. बाबुराम भट्टराईलाई यसैगरी आक्रामक प्रश्न सोधे । धमला र डा. भट्टराईवीच भएको सम्वाद यस्तो थियो :
ऋषि-तपाई र प्रचण्डको सम्बन्ध किन बिग्रियो ?
बाबुराम- बाबुराम र प्रचण्डवीचको सम्बन्धको कुरा होइन यो । उहाँ र मेरो वीचमा असाध्यै राम्रो सम्बन्ध छ । यहाँ र मेरो सम्बन्धमा कुनै व्यक्तिगत कटुता, मनमुटाव छैन । हिजो विहान मात्रै पनि हामीले बसेर लामो कुराकानी गर्यौं । यहाँ प्रश्न त सिद्धान्त, मूल्य मान्यता, आदर्श र प्रणालीको हो । हाम्रो कम्युनिस्ट पार्टी परम्परागत ढाँचामा बनेको छ, त्यसमा समयानुकूल रुपान्तरण नगर्ने हो भचने हामीले अहिलेको युगको, जनताका इच्छा आवश्यकतालाई पूरा गर्न गाह्रो हुन्छ । त्यसो हुनाले हाम्रो पार्टीको रुपान्तरणको योजना बनाउनुपर्यो भन्ने मेरो आग्रह हो । यही विषयमा हाम्रो छलफल हो ।
ऋषि-वैचारिक कुरा गर्दा तपाई र प्रचण्डवीचमा कुन कुन कुरामा विवाद छ त ?
बाबुराम- हामीले के भनेका छौं भने मूल रुपमा मार्क्सवादको प्रयोय नयाँ ढंगले गरेर जानुपर्छ । नेपालमा क्रान्तिको कार्यदिशालाई पनि विकसित र परिमार्जित गर्नुपर्छ । र, त्यही आवश्यकता अनुसार पार्टीको नयाँ ढंगले रुपान्तरण गर्नुपर्छ भन्ने कुरामा सैद्धान्तिक कुरामा त हाम्रो मोटामोटी सहमति छ, तर, जोड र कोणमा हाम्रा अझै केही अन्तर रहेका छन् । उहाँ अध्यक्ष हुनुको नाताले अलिकति पुरानै ढाँचामा कतिपय कुराहरु लिएर जान चाहिरहनुभएको छ । मचाहिँ अहिलेको देशको आवश्यकता, विश्वको आवश्यकता अनुसार पार्टीको कार्यदिशा र संगठनको ढाँचालाई अलि विकसित गरेर लानुपर्छ भन्ने पक्षमा छु । यही जोड कोणमा हाम्रो अहिले बहस चलिराखेको छ ।
ऋषि- तर, प्रचण्डले बाबुारम भट्टराईलाई मैले धेरै सहयोग गरें, धेरै माथि पुर्याएँ, उहाँको विरोध हुँदा हुँदै पनि उहाँलाई मैले नेता बनाएँ, प्रधानमन्त्री बनाएँ भनेर त प्रचण्डले भनिसक्नु भो नि ? अब प्रचण्ड र तपाईको वीचमा कुरा मिल्न त धेरै गाह्रो होला नि त डा. बाबुराम भट्टराई ?
बाबुराम- उहाँले त्यो कसरी भन्नुभयो, त्यो सरासर गलत कुरा हो । दुनियाँलाई थाहा छ, प्रचण्ड भन्ने पात्रलाई मान्छेहरुले ०६० सालसम्म चिन्दै चिन्दैनथे । बाबुराम भट्टराई ०३५ /०३६ सालदेखि दुनियाँले चिनेको मान्छे हो । कसले कसलाई स्थापित गर्यो भन्ने त संसारले बुझेकै कुरा हो, म त्यता जान चाहन्न, उहाँले कुन सन्दर्भमा भन्नुभएको हो ।
ऋषि-तर, तपाईलाई जुन किसिमको विद्वताको कुरा उहाँले गर्नुभएको छ, बाबुराम भट्टराई ठूलो विद्वान हो, विद्वान भएका कारणले मैले माथि ल्याएँ, तर मलाई धोका भयो बाबुराम भट्टराईबाट भनेर प्रचण्डले प्रष्टरुपमा भन्नुभएको छ….
बाबुराम- त्यो त उहाँलाई नै सोध्नुहोला । संसारले जानेको, बुझेको त्यस्तो झूठो कुरो उहाँले कसरी गर्नुभयो होला, म अनुमान गर्न सक्दिँन । त्यो उहाँलाई नै सोध्दा राम्रो होला । यथार्थ के हो त दुनियाँलाई थाहै छ नि त । बाबुराम भट्टराईलाई त दुनियाँले सबैले चिनेका थिए । जनयुद्धभन्दा पहिले, जनयुद्धकालभरि चिनेको पात्र नै बाबुराम भट्टराई थियो । उसलाई अरु कसैले स्थापित गर्नुपर्ने कुनै कारण छ भन्ने जनताले स्वीकार गर्छन् भन्ने मलाई लाग्दैन ।
ऋषि- तर, प्रचण्डलाई संकट परेको बेलामा छ नि, बाबुरामले धोका दिन्छन् भन्छन् नि मान्छेहरु ? बिराटनगर सम्मेलनमा पनि तपाईले त्यस्तै गरेको हो त ?
बाबुराम- धोकाको प्रश्न होइन । नेपालको क्रान्तिलाई मौलिक र सिर्जनशील ढंगले अगाडि बढाउँदै हामीले यहाँसम्म ल्याएका हौं । पुरानै ढाँचामा हामी गएका भए विश्वमा नयाँ ढंगले यहाँसम्म पुर्याउने, राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्र ल्याउने, संघीयतामा जाने, संविधानसभाको चुनावमा जाने जस्ता कुरा हुन सक्दैनथे । यसमा बाबुराम भट्टराईकै बैचारिक योगदान रहेको दुनियाँलाई थाहा छ । त्यसो भएको हुनाले बाबुराम भट्टराईले धोका होइन, अहिलेको आवश्यकता अनुसार पार्टी अझै रुपान्तरित बनाएर देशको पहिलो पार्टी, ठूलो पार्टी, नयाँ शक्तिमा रुपान्तरित गर्नुपर्यो भन्ने मेरो जोड हो । त्यसैले यो धोका होइन, क्रान्तिको आवश्यकताअनुसार जिम्मेवारी र कर्तव्य बाबुराम भट्टराईले पूरा गरेको हो ।
ऋषि- के तपाईले एमाओवादीलाई रुपान्तरण गर्न सक्नुहुन्छ ? प्रचण्डलाई सुधार्न अब के गर्नुपर्ला ? तपाईले प्रचण्डलाई सुधार्न सक्नुभएन र प्रचण्ड तपाईको एजेन्डा अनुसार अगाडि बढ्नुभएन भने त तपाई एमाओवादी पार्टीमा नरहन पनि सक्नुहुन्छ हैन त उसोभए ?
बाबुराम- त्यो गलत कुरा हो । हामी अहिले एउटा छलफ,ल के गरिराखेका छौं भने छिटै एउटा विशेष महाधिवेशन गर्ने, त्यसमा यी सबै विषयमा छलफल गर्ने र एउटा टुंगोमा पुग्ने । र, तत्काल संगठनात्मक क्षेत्रमा जुन हाम्रा असहमति देखा परेको छन्, संगठनलाई नयाँ ढंगले रुपान्तरण गर्नुपर्छ, एकै ठाउँमा सबै शक्ति केन्दि्रत गर्न भएन । पार्टीको मूल नेतृत्वले नै एउटा गुटको नेताजस्तो बनाउने जुन प्रवृत्ति भइराखेको छ, त्यसले गर्दा त्यसको आडमा विकृति विसंगतिहरु फस्टाइराखेका छन् । यसलाई सच्याउनुपर्यो र पार्टीलाई अहिलेको युगको आवश्यकता अनुसार नयाँ ढंगले जनवादी केन्द्रीयताको पुरानो ढाँचामा होइन, नयाँ जनवादी केन्द्रीयताको सच्चा ढाँचामा विकास गर्नुपर्यो । नोकरशाही केन्द्रीयतावादी ढाँचालाई बदल्नुपर्यो । एकमनावादी ढाँचा बदल्नुपर्यो । फरक र भिन्न मत राख्ने मान्छेहरुको पनि सम्मान गर्नुपर्यो भन्ने मेरो आग्रह हो । यसमा छलफल चलाउँदै हामी जान्छौं र यसमा पूरै पार्टीलाई रुपान्तरित गर्ने हो । यो पार्टी छोड्ने, भत्काउने होइन ।
ऋषि- तपाईले नयाँ शक्तिको कुरा गर्नुभएको छ, नयाँ विचारको कुरा गर्नुभएको छ, नयाँ श्क्ति र नयाँ विचार भनेको त पार्टीलाई भत्काउने, कमजोर बनाउने, नयाँ पार्टी गठन गर्ने होइन र डा. बाबुराम भट्टराई ?
बाबुराम-रुपान्तरण भनेको के हो भने जस्तै एउटा लार्भाले आफ्नो पुरानो रुप बदलेर पुतलीमा जसरी रुपान्तरण हुन्छ, त्यसैले यो पार्टीको पुरानो संरचना बदलिएको आवश्यकता अनुसार पुतलीजस्तो बनाउनुपर्यो, लार्भाकै रुपमा राख्न भएन भन्ने मेरो भनाइ हो ।
ऋषि- उही पात्र, उही प्रवृत्ति, उही विचारबाट नायँ समाज बन्न सक्छ ? समाज रुपान्तरण हुन सक्छ डा. बाबुराम भट्टराई ? नयाँ शक्ति उत्पादन हुन सक्छ ?
बाबुराम- हामी एकता, संघर्ष र रुपान्तरण भन्छौं । कुनै पनि नयाँ चिज दुईवटा तत्वको टक्कर र संघर्षबाट विकास भएर आउँछ भन्ने एउटा विज्ञानको मान्यता पनि हो । पोजेटिभ र नेगेटिभ टकरावहरु मिलेपछि नै त्यहाँ विजुली बत्ती बल्ने कुरा हो । त्यसो भएको हुनाले अहिलेको बहस, छलफल र संघर्षबाट यो पार्टीलाई रुपान्तरण गरेर लैजान सकिन्छ भन्ने पक्षमा हामी छौं ।
ऋषि-नयाँ बोतलमा पुरानै रक्सी भनेजस्तो हुँदैन तपाईले अहिले प्रचण्डलाई रुपान्तरण गर्नु भनेको ?
बाबुराम- त्यस्तो हुँदैन । भयो भने इतिहासले त्यसलाई स्वीकार गर्दैन । त्यसैले हामीले संघर्षको तरिकाले रुपान्तरण गर्ने जुन वैज्ञानिक विधि हो, त्यो हामी अपनाउँदैछौं । मलाई विश्वास छ हामीले बहस, छलफल र संघर्ष गर्दै गएर फेरि एउटा नयाँ उचाइमा पुग्छौं ।
विगतमा पनि हामी ठूला ठूला वैचारिक संघर्षबाटै रुपान्तरण हुँदै यहाँसम्म आएको हो । त्यसैले अहिले पनि पार्टीभित्र स्वस्थ बहस र संघर्ष चल्यो र फरक मतको सम्मान हुने ढंगको पार्टी बनाउने आधार तयार भयो भने रुपान्तरण सम्भव छ र नयाँ शक्तिको रुपान्तरण हुने र ध्रुवीरकण गरेर यो देशको परिवर्तनको नेतृत्व गर्न हामीले सक्नुपर्छ भन्ने मेरो जोड हो ।
ऋषि-तपाईले भनेअनुसार प्रचण्डले गर्नुभएन भने तपाई नयाँ पार्टीचाँहि खोल्नुहुन्छ ?
बाबुराम- मैले खोल्ने कुरा होइन, यसलाई रुपान्तरण गर्ने हाम्रो पहिलो प्रयत्न हुन्छ ।
ऋषि-रुपान्तरण गर्न सक्नुभएन र तपाईको विचार लागू भएन भने ?
बाबुराम-रुपान्तरणै भएनछ भने त्यो त भोलि विकल्प के हन सक्छ भनेर सोच्ने कुरा हो । अहिले मैले त्यतापटि्ट सोचिराखेको छैन ।
ऋषि- तर, तपाईकै सहयोगीहरु यतिखेर प्रचण्डलाई साथ दिइरहेका छन् । तपाईको टिमका साथीहरु प्रचण्डतिर गइसके । दीनानाथ शर्मा, राम कार्कीले अहिले तपाईलाई साथ दिएनन् ।
बाबुराम- त्यो गलत कुरा हो । उहाँहरु रामकार्की, दीनानाथ लगायतका साथीहरुले आफ्नै ढंगले पहिलेदेखि नै प्रश्नहरु उठाउँदै आइराख्नुभएको छ । यहाँ पक्ष विपक्षको कुरा होइन, हामी नयाँ ढंगको पार्टी रुपान्तरण गर्न चाहन्छौं । यसमा म व्यक्तितिर जान चाहन्न । यो पार्टीलाई रुपान्तरण गरेर नायँ शक्तिमा बल्नुपर्छ भन्नेमा हाम्रो पार्टीका अधिकांश कार्यकर्ता र नेताहरुको सहमति छ । यसमा यो पक्ष र उ पक्ष सर्यो, फलानो कमजोर भयो, फलानो चाहिँ बलियो भयो भन्ने बहस निरर्थक कुरा हो ।
ऋषि-तर, राम कार्कीले त भन्नुभयो नि, बाबुराम भट्टराईको आफ्नै क्यालेन्डर छ, त्यही क्यालेन्डर अनुसार अगाडि बढ्नुहुन्छ भनेर त भन्नुभयो नि ?
बाबुराम- हैन, यता सुन्नु न मैले त्यस्तै पार्टी खोजेको हो । एउटा कम्युनिस्ट पार्टी यस्तो हुनुपर्छ, जसलाई हामी विपरीतहरुको एकत्व भन्छौं । आलोचना र छलफलको स्वतन्त्रता, काम कारवाहीको एकरुपता । उहाँले जुन असहमति जनाइरहनुभएको छ, त्यसलाई म मान्छु । भिन्न मतसहितको पार्टी चाहियो भन्ने पक्षमा म भएको हुनाले मेरो पनि कसैले आलोचना गर्न पाउनुपर्छ ।
ऋषि-तर, एमाओवादी पार्टीमा तपाई रहँदासम्मको कुरा गर्दाखेरि तपाई फस्ट म्यान कहिल्यै पनि हुन नसक्ने स्थिति त आयो नि ? जहिले पनि प्रचण्ड अध्यक्ष भइरहने अनि बाबुारम चाहिँ प्रचण्डको एजेन्डा बोकेर हिँडिरहने हैन ?
बाबुराम- कम्युनिस्टहरु कहिल्यै पनि फस्ट, सेकेन्ड भन्ने हिसाबले सोच्दैनन् । उनीहरु सामुहिक र केन्द्रीकृत अभिव्यक्तिका रुपमा नेतृत्वलाई स्वीकार गर्छन् । यसकिसिमले हामीले सामुहिकरुपमा काम गर्ने हो । यसमा फस्ट, सेकेन्ड भन्ने हुँदैन । आवश्यकता अनुसार जिम्मेवारी लिने हो । यसैले हामीले मिलेरै संयुक्तरुपले काम गर्छौं । यसमा मेरो जोड त के हो भने लामो समयसम्म एउटै नेतृत्वमा बसिराख्नुहुँदैन । नयाँ साथीलाई स्थान दिनुपर्छ । म पनि नयाँ साथी अगाडि आउन् भन्ने चाहन्छु । यसको विधि, प्रणाली खोजिराखेको छु, व्यक्तिको पोजिसन र पद खोजेको होइन ।
ऋषि-तर, बाबुराम भट्टराईले पद खोजेको भनेर भन्दाखेरि के हुन्छ ?
बाबुराम- त्यो गलत हो । बाबुराम भट्टराई पदमा कहिल्यै आकांक्षा नराख्ने मान्छे हो । दिइएको जिम्मेवारी मैले पूरा गरेको छु । अहिले मलाई कुनै त्यस्तो पदको आवश्इकता छैन । बरु प्रणाली ठीक ढंगले बनाऔं । पुराना, युवा र नयाँहरुको एउटा राम्रो समिश्रण भएको पार्टी बनाऔं भन्ने मेरो आग्रह हो ।
ऋषि-तपाईकै अनुरोध अनुसार प्रचण्डले ९९ जनाको केन्द्रीय समितिलाई १५१ जनाको बनाउनुभयो । टोपबहादुर रायमाझीलाई संसदीय दलको उपनेता बनाउन पनि प्रचण्ड तयार हुनुभएको थियो नि त ?
बाबुराम- ए ऋषि जी, गलत कुरा भन्नुभयो, मैले त अझै सानो बनाऔं भनेको थिएँ । बिराटनगरकै कुरा गर्नुहुन्छ भने यो पार्टीमा धेरै मान्छे आकांक्षी भए, बरु सानो बनाऔं । ३५ जनाको, ४१ जनाको प्रस्ताव राखेको थिएँ मैले । त्यसैले मैले ९९ भन्दा ठूलो बनाऔं भनेको होइन, सानो बनाऔं भन्ने मेरो प्रस्ताव हो ।
ऋषि-तर, तपाईले आफ्ना मान्छेलाई राख्नका निम्ति केन्द्रीय समिति ठूलो बनाउनुपर्छ भन्नुभएको होइन ?
बाबुराम- यो गलत हो । विल्कुल गलत हो । मैले ३५ जनाको बनाऔं भनेको थिएँ । ९९ मा पनि धेरै आकांक्षी भए, अहिले विशेष महाधिवेशनमा जाऔं, अहिले ३५ जना वा ४२ जनासम्मको बनाऔं भन्ने मेरो प्रस्ताव हो ।
ऋषि- तर, तपाईले आफ्नो मान्छेलाई उपनेता बनाउनुपर्छ भनेर संसदीय दलमा त भनेको हो नि त ?
बाबुराम- मैले आफ्नो मान्छे भनेको छैन । मैले के भनिराखेको छु भने एउटै व्यक्तिमा वैचारिक नेतृत्व, सांगठानिक नेतृत्व, सत्ताको नेतृत्व केन्दि्रत गर्दाखेरि शक्तिको अति केन्द्रीकरण हुने र त्यसले एउटा नोकरशाही केन्द्रीयता जन्माउने खतरा हुन्छ । त्यसैले वैचारिक राजनीतिक नेतृत्व मुख्य मान्छेले लिऔं । कमरेड प्रचण्डले पार्टीको नेतृत्व गर्दा हुन्छ, तर संविधानसभाको नेतृत्व चा्हिँ नयाँ साथीलाई दिऔं । जस्तै, कृष्णबहादुर महरा, टोपबहादुर रायमाझीलगायतका साथीहरुलाई संविधानसभाको नेतृत्व दिऔं । मचाँहि वैचारिक राजनीतिक काम गर्छु भन्ने मेरो प्रस्ताव त यो हो । हिजो पनि त्यही हो, अहिले पनि यही हो ।
ऋषि-तर, प्रचण्ड र तपाईको वीचमा सहमति हुन सक्छ कि सक्दैन ? हिजोको बैठकको संकेत के हो ?
बाबुराम- हाम्रो सैद्धान्तिकरुपमा छलफल त भएको छ, ठोस कुरामा हामी प्रवेश गरेका छैनौं । सबैभन्दा मुख्य कुरा त ठोस कुरामा जाँदा हुन्छ भन्ने छ । यो कुराचाँहि हामी आज गर्दैछौं । आज पछि के हुन्छ, भरे या भोलिसम्म भन्न सकिन्छ ।
ऋषि-केन्द्रीय समितिको बैठक सार्नुपर्छ भन्ने तपाईको प्रस्तावचाँहि हो नि हैन ?
बाबुराम- मैले त्यस्तो कुनै प्रस्ताव राखेको छैन, उहाँहरुले के गुर्नहुन्छ, उहाँहरुले जान्ने कुरा हो । म त पार्टी रुपान्तरण होस, नयाँ ढंगको पार्टी बनोस्, नेतृत्वमा नायँ ढंगको प्रणाली बनोस् नयाँ साथीहरु अगाडि आउन् भन्ने पक्षको मान्छे भएको हुनाले यही कुरा म राखिराखेको छु र राखिरहने छु ।
ऋषि- देवेन्द्र पौडेलले रिपोर्टस क्लबमा के भन्नुभएको थियो भने अब प्रचण्डसँग सहमति हुन सक्ने आधारहरु तयार हुँदैछ । तपाई अझै पनि कुरा मिलेको छैन भन्दै हुनुहुन्छ, अब चाहिँ के हुन्छ ? नेपाली जनतालाई बताइदिनोस् डा. बाबुारम भट्टराई । तपाई शीर्षनेता हो यो मकुलुकको ।
बाबुराम- जनताको रगत पसीनाबाट बनेको एमाओवादी देशको नयाँ आर्थिक विकासको चरणमा हामी प्रवेश गरेका छौं, जनतालाई सम्पन्न बनाउने अभियानमा अब हामी अगाडि जाँदैछौं । यसको नेतृत्व गर्न लायक नयाँ ढंगको पार्टी रुपान्तरण गर्ने मेरो अभियान हो । यसका निम्ति मेरो प्रयत्न जारी रहनेछ । त्यसैले छलफल जारी छ । सकारात्मक निश्कर्षमा पुगोस् भन्ने म चाहन्छु ।
ऋषि-त्यसोभए नायँ पार्टी चाहिँ खोल्ने पक्षमा बाबुराम भट्टराई हुनुहुन्न ?
बाबुराम- बाबुराम भट्टराई अहिले नयाँ पार्टी होइन, यो पार्टीलाई रुपान्तरण गर्ने र नयाँ बनाउने, यसलाई नयाँ शक्तिको रुपमा रुपान्तरण गर्ने र हाम्रो पार्टीभन्दा बाहिरका मान्छेलाई पनि समेटेर नयाँ पार्टी बनाउने भन्ने मेरो आशय हो ।
ऋषि- तपाईले भन्नुभयो नि त, अब मोहन वैद्यसँग एकता गर्नुपर्छ । अब धोबीघाटतिर लाग्नुपर्छ भनेर किन भन्नुभयो ?
बाबुराम- मोहन वैद्यजीहरुसँग एकता गर्दा यो संगठनको रुपान्तरणमा मद्दत पुग्छ भन्ने मेरो भनाइ हो । किनकि हिजो पनि हाम्रो पार्टीमा अलि एकमनावादी, नोकरशाही केन्द्रयतावादी अति शक्ति केन्द्रीकरणको जुन प्रवृत्ति आयो, त्यसको विरुद्धमा धोबीघाटमा कामरेड किरण, नारायणकाजी, रामबहादुर थापा बादल म लगायतका साथीहरुले एउटा संयुक्त पहल गरेका थियौं । त्यसको लक्ष पार्टीलाई रुपान्तरण गर्ने थियो । त्यसैले किरणजीहरुसँग एकता भयो भने यो अभियानलाई अगाडि बढाउन मद्दत पुग्छ भन्ने मेरो भनाइ हो ।
ऋषि- मोहन वैद्य किरणजी र तपाईको कुरा मिल्न सक्ला ? त्यो सम्भव छ ?
बाबुराम- हाम्रो अलिकति कार्यदिशामा चाँहि अन्तर छ । उहाँहरु परानै ढंगले क्रान्ति गर्नुपर्छ भन्नुहुन्छ, म लगायतका साथीहरु अलि नयाँ ढंगले जानुपर्छ भन्दैछौं । यसमा चाहिँ छलफल गर्नुपर्छ । तर, संगठन नयाँ ढंगले बनाउनुपर्छ, यो अति केन्दि्रकृत व्यक्तिवादी खालको संगठनको ढाँचा बदल्नुपर्छ भन्ने कुरामा उहाँ र मेरो बुझाइ समान छ ।
ऋषि- तर उहाँहरुले हेटौडा महाधिवेशनको कार्यदिशा परिवर्तन गर्नुपर्छ भन्नुभएको छ । हेटौडाको कार्यदिशा मान्दैनौं भनेर मोहन ववैद्यले भनेको अवस्थामा तपाई पुँजीवादी कम्युनिस्ट विचारको नेतृत्व गर्नुहुन्छ भनेर मोहन वैद्यले आरोप लगाइरहेका बेलामा कसरी तपाईहरुको वीचमा अब एकता होला र ?
बाबुराम- हो, राजनीतिक कार्यदिशा र वैचारिक प्रश्नहरुमा हाम्रा थुप्रै अन्तरविरोधहरु छन् । यसविषयमा छलफल चलाउँदै जानुपर्छ । यसमा अहिले तुरुन्तै एकता भइहाल्दैन तर छलफल चलाउँदै लगेर एकताका निम्ति प्रयत्न गर्नुपर्छ । भन्ने मेरो आशय हो ।
ऋषि-अब संविधान लेखनको कुरा गरौं, तपाईले हिजो प्रचण्डलाई संविधानसभाबाट नभाग्नोस् भन्नुभयो, के प्रचण्ड संविधानसभाबाट भाग्न खोज्नुभएको हो ?
बाबुराम- हैन, मैले भाग्नोस्, नभाग्नोस् भन्ने शब्द प्रयोग गरेको छैन । अहिलेको हाम्रो कार्यनीति तत्काल संविधानसभाबाट संविधान बनाएरै जानुपर्छ । किनकि हामीले यत्रो त्याग र बलिदान गरेर संविधानसभा ल्याएको हो । यसपटक पूरै जोडबल लगाएर अधिकतम प्रगतिशील संविधान बनाउनुपर्छ । यो नै हाम्रो तत्कालीन कार्यनीति हुनुपर्छ । यसबाट दायाँवायाँ गर्नुहुँदैन भन्ने मेरो आशय हो ।
ऋषि-तर, मोहन वैद्यले त संविधानसभा विघटन गर्नुपर्छ भनेका छन् नि ?
बाबुराम- मोहन वैद्यजीको पनि विघटनै गर्नुपर्छ भन्ने त छैन । उहाँहरुको पनि सहभागिता हुनुपर्यो र त्यसको एउटा मेकानिज्म बनाउनुपर्यो भनेको हुनाले एउटा वृहत राजनीतिक सम्मेलन अथवा गोलमेच सम्मेलन, गोलमेच सभा आदिजस्तो आयोजना गरेर उहाँहरुलाई पनि समेटेर जानुपर्छ भन्ने कुरामा हाम्रो विमति छैन । म यो समितिको सभापति पनि भएको नाताले यस्ता विभिन्न प्रयत्नहरु गर्छु र किरणजीहरुसँग पनि यसबारे वार्ता र सम्वाद गर्छु ।

