काठमाण्डौ, २०७० चैत्र २६ गते
माजमा आधुनिक औषधी विज्ञानले मारेको फड्को हामीले अनुमान गर्न सक्ने भन्दा माथी भई सकेको छ । सबै भन्दा जटिल र संवेदनशिल पेशाकारुपमा डाक्टरी पेशालाई लिईन्छ । तर नेपालमा भने उखान नै छ, हरेक नेपाली डाक्टर छन् । जथाभावी औषधी वितरणका कारण कैयौँको ज्यान गएको छ तर यसको लेखाजोखा केही छैन । जनतामा रगतको क्यान्सरपनि योग मार्फत निको हुन्छ भन्ने अन्धविश्वासमा छन् । खुलेआमा झुठा बोलेर नेपाल र भारतमा सँस्कृतिका नाममा औषधी बेच्न र अरुलाई यातना दिन समेत बकाईदा छुट छ । नेपाली समाजमा आजपनि धाँमी झाँक्री प्रथा डाक्टरी पेशा भन्दा प्रचलित छ । कति धाँमीहरुले त कसैलाई बोक्सीको आरोपमा मार्न समेत आदेश दिएका छन् । यो प्रवृत्ति नेपालमा मेडिकल पेश ागर्नेहरुका लागि चुनौति नै बनेको छ । समाज त त्यसैपनि ग्रसित नै छ । डाक्टरी अध्ययन गरेर समाज सेवामा पनि उत्तिकै लागेकी समाज सेवी डा. अरुणा उप्रेती जनतामा चेतना अभिवृद्धि गर्नमा लामो समयदेखि लागेकी छन् । विशेषगरी उनको रुची नेपाली महिलाको उत्थानमा रहेको पाईन्छ ।
आजको अंकमा हामीले यसै बिषयमा डा. उप्रेतीसँग भएको कुराकानीमा आधारीत अन्तर्वाताको शारांस प्रश्तुत गरेका छौँ ।
प्रश्नः मानिस किन आजपनि धाँमी झाँक्री जस्ता प्रथाका कारण विभिन्न कुरीति पालेर राख्दछन् ?
डा. उप्रेतीः यसको मुख्य कारण अज्ञानता हो, अन्धविश्वास हो र यो नेपालको मात्रै हैन करिब २ सय बर्ष अगाडी यो समस्या युरोपमा पनि उत्तिकै थियो । अहिले उनीहरुको समाजको अन्धविश्वास हटेको छ तर नेपाली समाज उस्तै छ ।
प्रश्नः कस्ता मानिस यस्ता समस्याबाट जकडिएका होलान ?
डा. उप्रेतीः अहिलेपनि समाजमा भुत, प्रेत ईत्यादीमा विश्वास गर्नेको कमी छैन । विशेषतः ज्ञानको ज्योती नपुगेको र कम शिक्षीत समाजमा यस्तो समस्या पाईन्छ । त्यसमापनि एकदम गरिब मानिस यस्तो अन्धविश्वासमा फसेको पाईन्छ ।
प्रश्नः बोक्सीमाथीको अन्धविश्वासका कारण कैयौँले ज्यान गुमाई रहेका छन् नेपालमा । पछिल्लो समयमा सोच नेपालले गरेको सर्वेमा करिब हरेक ३८ दिनमा एकजनालाई बोक्सी भनी मारिएको अवस्था छ । किन यो बोक्सी प्रथा कायम छ यो समाजमा ?
डा. उप्रेतीः प्राय बोक्सी भनी पिडा पाउनेमा एकल महिला, गरिब, दलित, केहिपनि नभएको, आवाज हिन महिलालाई वा त्यस्तो महिलाको परिवारलाई बोक्सीको लान्छाना लाएर कुटपिट गरिन्छ, मारिन्छ । यो अमानविय त छँदैछ गैरकानुनी कार्यपनि हो र मानव अधिकारको हनन् पनि हो । गरिब मात्रै हैन विभिन्न कुरीतिका कारणले धनी नै भएपनि कोही महिला पिडित छन् । जस्तै सुदुर पश्चिमका देउकी, छाउपडी लगायतका प्रथालाई लिन सकिन्छ ।
प्रश्नः तपाई आफैमा डाक्टर पनि हुनु हुन्छ । तपाईपनि उपचार गर्ने मान्छे धामीपनि उपचार गर्ने मान्छे । तपाई र धामीमा फरक के छ ?
डा.उप्रेतीः आधुनिक उपचार नभएका बेला पहिला पहिला विकसित देशहरुमापनि पादरीहरुले उपचार गर्ने गर्दथे । मानिसमा विभिन्न किसिमको विश्वास भएकाले झारफुकका कारण सामान्य मानसिक रोग ठिक भएका होलान् । त्यस्ता रोग ठिक हुन्थे । जसको ठिक हुदैन उसको बोल्ने स्थान कहिपनि थिएन । नेपालमापनि पहिले पहिले झाडा पखाला लाग्दापनि धामी कहाँ लगिन्थ्यो । उनीहरुले बालबालिकालाई झाडा लागेका बेलामा पानी खान दिनु हुदैन भनेका कारण कैयौँ बालबालिकाको ज्यान जान्थ्यो । यसरी अन्धविश्वासका कारण कैयौँले ज्यान गुमाई रहेका छौँ । केही विश्वासका आधारमा मानिसलाई धामी ठिक हो भन्ने लाग्ला तर यो तथ्य हैन । मलाई विश्वास लाग्दैन । तर धामी लगायत विभिन्न पुजाहरुपनि लगाईन्छ । त्यसले हुने केही हैन तर मानिसलाई विश्वास लाग्दछ ।
प्रश्नः साँच्चै बोक्सी छन् त ?
डा. उप्रेतीः वास्तवमा बोक्सी हुन्थे भने उनीहरुले आफुलाई आक्रमण हुँदा उनीहरुलाई तत्कालै बिरामी पार्न सक्दैनन् त? यो त मानिसको अन्धविश्वासको पराकाष्टा हो । बोक्सी भनेर कसैलाई दिशा खुवाउने, मार्ने काम गरिन्छ । अब अहिले त बोक्सी छ कि छैन भन्ने प्रश्न नै गर्ने हैन । यो सर्वस्विकार्य कुरा हो कि बोक्सी छैनन् ।
प्रश्नः मानिसले राती सुत्दा नीलो डाम आएका समयमा बोक्सी लाग्यो भन्ने गरेका छन् । राती सुत्दा ऐठनपनि हुन्छ । त्यो के हो ?
डा. उप्रेतीः अघिल्लो रात वा दिनमा राम्रो निद्रा नलागेमा, त्यहि रातपनि निद्रा नलागेमा पनि ऐठन हुने सम्भावना बढ्दछ । त्यहि ऐठनलाई मानिसले बोक्सी लागेको भन्दछन् । कहिलेकहि हामीलाई थाहै नभईकन जिउमा ठक्कर लागेको हुन्छ । त्यहा निलडाम बसेको हुन सक्दछ, सुतेका समयमा कहिँ थिचिएर डाम बस्नपनि सक्दछ । त्यसलाई पनि मानिसले बोक्सी लागेको भन्दछन् । यस अवैज्ञानिक तथ्यका आधारमा कसैलाई यातना दिनु गलत कार्य हो ।
प्रश्नः कोही धाँमीहरुले आफुमा शक्ति छैन भन्ने थाहा हुँदा हुदैपनि धामीले शक्ती र पैसा कमाउनका लागि यो पेशा अपनाई रहेका ेहो ?
डा. उप्रेतीः सुदुरपश्चिममा छाउपडीको अध्ययन गर्न जाँदा केही धामीले कोही छाऊ भएको महिला अगाडी परेमा कम्पन काम्ने) हुन्छ भनेको पाईयो भने केहीले हैन केहीपनि हुँदैन भने । तर ति छाऊ भएका महिलाले कहिलेकहिँ आफुले भन्दै नभनि ति छाऊ भएका महिला आएमा कामिन्छ भन्ने धामीसँग बसेका थिए तर उनीहरुले थाहै पाएनन् । तर जब हामीले भन्दछौँ अनि मात्रै उनीहरुले कम्पन आएका बताउदथे । धामीले अरुप्रति आफ्नो शक्ति राख्नका लागि यस्तो किसिमको झुठो कुरा बोलेका हुन् यो म स्पष्टरुपमा आफ्नो अनुभवका आधारमा भन्न सक्दछु । मानिसलाई जति अन्धविश्वासमा राख्न सक्यो, जति डरमा राख्न सक्यो त्यति आफुलाई पैसा आउछ, त्यत् िआफु शक्तिमा आउन सकिन्छ भन्ने धामीलाई थाहा छ ।
