काठमाडौं २८ बैशाख
पारिश्रमिक र सुरक्षाको दृश्टिकोणले आकर्षक गन्तव्य मुलुक मानिने युरोपमा पुरुषभन्दा महिला कामदार बढी जान थालेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार युरो पाने कामदारको संख्यामा ६५ प्रतिशत महिला छन् ।
चालू आर्थिक वर्षको चैत मसान्तसम्म १ हजार ८ सय ६५ नेपाली युवा रोजगारीका लागि युरोपका १३ मुलुक गएका छन् । तीमध्ये १ हजार १ सय ८५ महिला छन् । ‘यो युरोपमा जाने नेपाली महिलाको छिटपुट संख्या हो ।
अहिलेसम्म हुनेखाने परिवारका मात्र गइरहेका छन्,’ वैदेशिक रोजगारविज्ञ गणेश गुरुङले भने, ‘युरोपमा भएका नातेदारले पठाएको भिसामा मात्र गएका छन्, व्यवसायी र सरकारले मार्केटिङ गरेर पठाएका होइनन् ।’ गत आवमा युरोप गएका ८ सय ८ मध्ये ५ सय ९ महिला रहेको कारोबार दैनिकमा खबर छ ।
सरकारले राम्रो गन्तव्य मुलुकको प्रवर्द्धन गर्न सके घरेलु कामका लागि खाडी र मलेसिया गइरहेका महिला ‘डाइभर्ट’ भएर युरोप र उत्तर अमेरिकातर्फ लाग्ने गुरुङको भनाई छ ।
युरोपतर्फ जान सके कामदारको आर्थिक हैसियत धेरै गुणा बढ्थ्यो,’ उनले थपे, ‘खाडी र मलेसियाजस्तो श्रम-शारीरिक शोषणमा पर्नुपर्दैनथ्यो ।’ चालू आवका ९ महिनामा सबैभन्दा बढी महिला साइप्रस गएका छन् । त्यहाँ पुगेका ८ सय ६३ मध्ये ८ सय २६ महिला छन् ।
