स्याङ्जामा चकित पार्ने अपराध हत्या गरि पुरेको शव १० दिन पछि जंगलमा लगेर पुरे १२ जना पक्राउ ।
February 08, 2017
0
बुधबार माघ २६,२०७३
फाइल तस्बिर ,
स्याङ्जाको :आरुचौर गाविस–४ स्थित चिप्लेटीमा नाम, ठेगना नखुलेको व्यक्तिको शव भेटिएको छ । गत पुस २७ गते हत्यापछि शवलाई घटनास्थल नजिकै खाल्डो खनी गाडिएको भएपनि गाँउमा हल्ला हुन थालेपछि उक्त शवलाई पुन: निकाली घटनास्थलदेखि करीब ४ घण्टाको पैदल दुरीमा पर्ने अर्जुनचौपारी गाविस–५ स्थित भट्टे पथान सामुदायीक वनमा लगी गाडिएको अवस्थामा फेला परेको हो ।
पहिला शव गाडिएको ठाँउमा भने ५ महिनाको भैंसीको पाडो मारी गाडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्दाजी ५० वर्ष उमेरका देखिने उक्त शवको अनुहार हेर्दा हिमाली भेगमा बसोबास गर्ने व्यक्ति भएको हुनसक्ने आशंकामा प्रहरीले गरेको छ । सोही अुमान अनुरुप प्रहरीले मनाङ र मुस्ताङ जिल्लामा हुलिया परिपत्र गरिएको बताएको छ ।
प्रहरीका अनुसार गत पुस २७ गते जडीबुटी बेच्ने क्रममा एकजना अपरिचित व्यक्ति उक्त स्थानमा पुगेको र पैसाको लोभमा हत्या भएको हुनसक्ने आशंका गरिएको छ । उक्त व्यक्तिको घरेलु हतियार प्रयोग गरी हत्या गरिएको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयको भनाई छ ।
सो व्यक्ति त्यो दिन स्थानीय शोभाकर बिकको घरमा बास बसेको र शोभाकरको भतिज सन्जयसँग झगडा भएपछि हात हालाहाल भए पश्चात मृत्यु भएको र छिमेकीहरुको सहमति र सहयोगमा शवलाई लुकाइ–छिपाई घटनास्थलबाट करीब २ सय मिटर टाढा बारीमा खाडल खनी गाडिएको प्रहरी नायब उपरीक्षक वीरबहादुर पुलामीले दाबी गरे ।
‘विस्तारै गाँउमा हल्ला हुन थालेपछि शोभाकर, सन्जय लगायतका व्यक्तिहरु मिलेर ४ घण्टाको पैदल दुरीमा पर्ने अर्जुनचौपारी गाविस–५ स्थित भट्टे पथान सामुदायीक वनमा प्लाष्टिकले बेरी खाल्डो खनेर ओडार भित्र पुरिएको अवस्थामा फेला पारिएको र पहिले लाश गाडिएको स्थानमा ५ महिनाको भैसीको पाडो मारी गाडीएको अवस्थामा फेला पर्यो,’ उनले भने । विशेष सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा मानिसको शव र मृत भैंसीको पाडो बरामद गरिएको उनले बताए ।
शवको साथमा २ वटा सुनको औंठी, ४ हजार नगद पैसा, झोला, केही जडीबुटी, लत्ताकपडा, लगायत सामान पनि बरामद भएको छ ।
‘घरेलु हसिंया प्रयोग गरी हत्या गरेको जस्तो देखिन्छ,’ नायव निरिक्षक पुलामीले भने, ‘हत्या गर्नुको कारण लुटपाट गर्ने मनसाय हुनसक्ने अनुमान हाम्रो छ ।’
हालसम्म हत्यामा संलग्न भएको आशंकामा चिप्लेटी गाँउका १२ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको समेत प्रहरीले जनाएको छ ।(कान्तिपुरबाट साभार)
Tags