आखिर म खाडीमा श्रम बेचेको छु इज्जत हैन किन यति हेला।

0




सुरज खडका
( आफ्नै भोगाइ बा )
बैसाश २९, २०७३, बुधबार

केही वर्ष पहिले जब म पहिलो वैदेशिक रोजगारीको क्रममा साउदीबाट छुट्टी मनाउन नेपाल गएको थिएँ, काठमाडौंबाट बिहान ७,३० बजे माइक्रोबसमा चढेको  स्याङ्जा त्रियासी पुगे झन्डै साझँको ४ बजेको थियो त्रियासी बाट  गाउँमा जान लगभग हिडेर २ घण्टा जति लाग्थ्यो मेरो बुबा अंकल छोरा मेरा भाईहरुअन्टी सबै मलाई लिन त्रियासी बजारनै आयका थिय हालसालै गाउबासीहरुले केही रकम संकलन गरेर गाउँमा मोटरबाटो खनेका रहेछन्
बुबाले भन्नू भयो धेरै जना भयौ एउटा गाडीनै रिजर्भ गरेर जानू पर्यो भनेर मैले पनि सहमति जनाउदै हुन्छ भने १५०० मा रिजर्भ पक्कापक्की भयो खहरे बजार पुग्दा यसै बिचमा अचानक बुबाले गाडी रोक्ने आग्रह गर्दै १ जना बृद्धअबश्थाका ब्यात्तीलाई गाडीमा चढाउनु भयो
बुबाको माध्यमबाट पछि परिचय भएका ती  भावनात्मक आफन्तले  निकै उत्सुकता देखाउनुभयो  बाबू सुरज के छ हाल खबर आरमै छौ ल् भोली खाना खाने गरि हाम्रो घर आउ है भनेर बारम्बारको अनुरोधपछि एक दिन बिहान म उहाँको घरमा बिहानको खाना खानेगरि गएँ । सन्चो बिसन्चोको सामान्य औपचारिकता पुरा गरेपछि मसँग कुरा गर्ने खासै विषय थिएन । के बोल्ने र के कुरा गर्नेको असामञ्जस्य अवस्थामा बरु ती आफन्तकै श्रीमतीले कुराको सिलसिला शुरु गर्नुभयो -साँच्चै बाबु सुरज कुन देश मा हो रे ? मैले सहज रुपमा जवाफ दिएँ -साउदी अरेबिया  हजुरमुमा !

ए , साउदी पो ?
साउदी भन्ने बित्तिकै उहाँको मुखाकृतिमा एउटा नमिठो भाव झल्कियो । मैले फेरि उस्तै सामान्य भएर जवाफ दिएँ -हजुर साउदी बाट हजुरमुमा
त्यसपछि उहाँले मलाई टिठ लाग्दो नजरले तलदेखि  माथीसम्म हेर्नुभयो । मानौं म आफ्नो सीप र क्षमता बेचेर आफ्नो पाखुरीको कमाइमा सन्तुष्ट भएर फर्केको लाहुरे हैन, एउटा ठुलो अपराधमा जेल सजाएँ भोगेर भर्खरै फर्केको त्यो कैदी हुँ जो समाजमा कसरी मुख देखाउने भनेर पिरोलिंदै छु ।
ए……. ,,त्यो लामो ए भित्र हजारौं भाव लुकेका थिए । अझ भनौं मेरो लागि सहानुभूति र संवेदना पोखिएका थिए, जबकी त्यो सहानुभूति र संवेदनाको आवश्यकता मलाई पटक्कै थिएन मलाई तेस दिन  पटक्कै निन्द्रा लागेन
खै !उहाँले म कुन देश बस्छ भन्ने सोच्नुभएको थियो र कुन आशयले मसँग भेट गर्न मरिहत्ते गर्नुभएको थियो त्यो मलाई थाहा भएन,तर उहाँहरुको मनोभावले के दर्शाउँथ्यो भने खाडी साउदीमा बस्नु भनेको राम्रो हैन ।खाडी जाने भनेका सबै अनपढ, दु:खको काम गर्ने कमाइ नहुने ठाउँ हो । सायद उहाँले मेरो बुबाआमालाई छोरो कुन देश गएको भनेर सोध्ने आवश्यकता पनि ठान्नुभएको थिएन ,किनकी आफ्नो पेशमा बुबाले पनि राम्रै हैसियत जमाउनु भएकोले यत्तिको जल्दोबलेमा उहाँहरु आफैंमा ढुक्क हुनुहुन्थ्यो । त्यसमाथि मलाई भेटेपछिको मेरो शारीरिक अवस्थाले उहाँहरुको सोचाइलाई अझ पुष्टि गरिदियो। अझैपनि हाम्रो समाजमा मोटोघाटो हुनु र छाला सेतो हुनुलाई सुख पाउनुको संकेतको रुपमा बुझिन्छ जो मेरो शारिरिक अवस्थाले साथ दिएको थियो । व्यक्तिगत रुपमा म आफ्नो काम र कमाइबाट सन्तुष्ट थिएँ तर वैभव हेर्दा सम्पन्न र कुराकानीमा शिक्षित जस्ता लाग्ने ती बृद्धअबश्थाका दम्पतिको नजरमा म एउटा लाचार र निरीह प्राणी जस्तो भएको थिएँ मानौं म खाडी बस्नु परेकोमा आफूलाई चरम अभागी सम्झदै उनीहरुसँग सहानुभूतिको भिखको लागि अनुनय विनय गरिरहेको छु ।

यो घटनापछि मेरो मनमा धेरै प्रश्नहरु उब्जिए ! आखिर किन शिक्षित ठानिएको हाम्रो समाज नै भुगोलको आधारमा, कामको आधारमा कमाइको आधारमा मान्छेलाई यसरी वर्गीकरण गर्छ, त्यही मान्छे पश्चिमा देशहरुमा गए उ देवपुत्र झैं पूज्य हुने, त्यही मान्छे खाडी मलेसिया साउदी कतार दुबई गए तल्लो वर्गको हुने ! यो वर्गीकरणको शिकार ती मेरा आफन्तकोमा मात्र नभएर हाम्रै टोलसमाज देखि एअरपोर्टको वेटिङ कक्षमा नपुगुन्जेल सम्म सहनुपर्छ । हामीले नै तिरेको कर र हामीले नै पठाएको रेमिटेन्सबाट तलब खाने श्रम कार्यालय देखि एअरपोर्टसम्मका कर्मचारीले खाडी जाने र युके यु एस जानेहरु बिच गर्ने ब्यबहार एअरपोर्टमा पाइला टेक्ने कसैलाई पनि बताइरहनु पर्दैन यो त सम्पूर्ण खाडीमुलकमा श्रम बेचेकालाई थाहा भयको कुरा हो   किन यस्तो भेदभावपूर्ण नजरले हेरिन्छ त खाडीलाई ?
यसको दोषी को ? सुकिलामुकिलाको नजरमा किन अछुत बन्छ खाडी ? यसको बारेमा केही केलाउने प्रयास गरेको छु ।

हाम्रो देशको मिडियाकर्मीहरु सकारात्मक सन्देश दिने भन्दा नकारात्मक कुराहरुलाई बढी प्रचार प्रसार गर्न रुचाउँछन् ।मान्छेको स्वभावै यस्तो हुन्छ कि राम्रो कुरामा खासै कसैको नजर जाँदैन तर नराम्रो कुरा रातारात फैलिन्छ । खाडी भन्नेबित्तिकै  मिडियाले हामीलाई सानैदेखी कस्तो छाप बनाइदियो भने, खाडी जानेबित्तिकै एअरपोर्टमै अलपत्र परिन्छ, कम्पनीको मान्छे कैयौंदिन लिन आउदैन, भोकभोकै बस्नुपर्छ, एउटा काम भनेर अर्को काम लगाउँछ, भनेको जति तलब दिंदैन ,सबैजनाले ४८/५० डिग्रीको घाममा काम गर्नुपर्छ ,साहुले कुट्छ …. आदि इत्यादि । तर यो सरासर अफवाह हो । हो, अत्यन्त न्यून प्रतिशतमा यो समस्या अहिले पनि छ । तर बहुसंख्यकलाई असर पर्ने गरि अत्यन्त न्युन प्रतिशले भोग्नुपरेको कुरालाई हाइलाइट गरिदिंदा समग्र खाडी प्रती नै गलत धारणा बन्न जान्छ ,जो अहिले भइरहेको छ ।हाल म बसिरहेको मुलुक साउदी अरेबियामा  छ लाख भन्दा बढी नेपाली बसोबास गर्छन् ,जसमा माथी उल्लेखित समस्या भोग्ने मुश्किलले तीन हजार होलान् , अब तीन हजारको प्रतिनिधित्व गरेर बाँकीलाई भ्रम र त्रासको वातावरण बनाउन हुँदैन । यसको मतलब मैले ती पीडित तीन हजारलाई उपेक्षा गर्नुपर्छ ,उनिहरुको बारेमा लेख्न हुन्न भन्न खोजेको कदापि हैन तर यसैलाई खाडीको ब्रान्ड बनाएर प्रचार गरिनुहुन्न ।
खाडी बस्ने हामी अधिकांशको एउटा नराम्रो बानी के छ भने हामी आफू नै आफूलाई हीन रुपमा पेश गर्नखोज्छौं । साउदीमा अहिले सयौ देशका मानिस बस्छन् कामकै सिलसिलामा ।हामीले स्वर्ग ठान्ने गरेका अमेरिकी बेलायती देखि सबै विकशित राष्ट्रका नागरिकहरु पनि यहाँ बकाइदा ८/१० घन्टा ड्युटी गर्छन् । तर हाम्रो स्वभाव चाहिँ कस्तो छ भने यहाँ भोगेको भन्दा बढी दुख देखाउछौं । लौ! भनेको बेलामा खान सुत्नै पाइएन,काम साह्रै गाह्रो भो, तलबै पुगेन ,बिजोगै भो, नाशिएरै गयो ,सखापै भो ,अलपत्रै परियो भनेर कोकोहोलो गर्ने बानीले पनि खाडीलाई हेयको दृष्टिले हेर्नेहरुलाई मलजल पुगेको छ। मलाई अचम्म कहाँनेर लाग्छ भने कामको सवालमा खाडी आउने अक्सर नेपाली निम्न मध्यम वर्गको परिवारबाटै आएका हुन्छन् ,आफैंले जिम्मेवारी बहन नगरेर बाबु आमाको काखमा रजाइँ गर्दागर्दै आएका हरुलाई त निश्चित सममसिमामा बाँधिएर काम गर्न गाह्रोहोला तर नेपालमा छँदै आफूले जिम्मेवारी बहन गर्न परेकाहरु र बाबु आमाकै काखमा भएकाहरुले पनि आफ्नो धरातल बिर्सन हुँदैन । हामी अधिकांश कृषकका सन्तान एउटा कृषकले नेपालमा दैनिक कति घन्टा काम गर्नुपर्छ ? बिहान ४ बजे उठेपछि राती १० नबजेसम्म उसले फुर्सद पाउँदैन ।त्यो परिवेशमा जन्मे हुर्केका हामीले यहाँ १०/१२ घन्टा ड्युटी गाह्रो भो भनेर घन्टैपिच्छे फेसबुकमा स्टाटस पोस्ट गर्नु र हरेक कमेन्टमा रिप्लाई गर्न भ्याउनु कतिसम्मको गाह्रो रहेछ आफैंमा अनुमान गर्न सकिन्छ
हो निश्चितरूपमा खाडी मुलुकहरूमा गैर कानुनी काम गर्नेलाई कडा सजाय हुन्छ तर यी मुलुकहरुको राम्रो पक्ष र यी मुलुकहरुले हाम्रो जस्तो अविकसित राष्ट्रलाई लगाएको गुण पनि उत्तिकै महत्वपूर्ण छन् । के राम्रो छ त खाडीमा ?
हामी नेपालीहरु जो सँग सीप छैन, कुनै कामको दक्षता छैन, अनुभव छैन शैक्षिक योग्यता छैन र आफ्नै देशमा बिक्ने कुनै ठाउँ छैन त्यस्ता वर्गका मानिसहरुले समेत खाडीमा सहज प्रवेश पाउछन् ,पहिले तल्लो स्तरबाट प्रवेश गरेपनि क्षमता अभिवृद्धि सँगै बढोन्नतीको अवसर पाउछन् । चाहे शैक्षिक योग्यता कम भएका र कुनै सीप नभएका सरसफाइमा काम गरेर महिनामा २५/३० हजार कमाउने हुन् या मध्यम स्तरको पढाइले सेक्युरिटी ,पेट्रोलपम्प,क्यासियर ,ब्युटिसियन काम गरेर महिनामा पचास हजार देखि लाख रुपैयाँसम्म कमाउनेहरु हुन् ,सबै आ आफ्नो काम र कमाइमा सन्तुष्ट छन् ।यसबाहेक सम्बन्धित काममा दक्ष ,राम्रो शैक्षिक योग्यता, लगानी गर्न सक्नेहरुले राम्रो अवसर पाएकै छन् जो महिनामा दशौं लाख कमाउने हैसियत राख्छन
खाडीमा जान कम लगानी भए पुग्छ। यहाँका प्राय कम्पनीहरुले फ्री भिषा दिन्छन् । बरु हाम्रै देशका म्यानपावरहरुले आवश्यकता भन्दा बढी ठगी गर्ने भएर मात्र नत्र जुनसुकै कामको लागि पनि अत्यन्त न्यून लगानीमा खाडी आउन सकिन्छ । अहिले म्यानपावरहरुले धेरै पैसा लिदापनि खाडीको लागत एउटा न्यून मध्यम वर्गको पहुँचमा छ ।जो पश्चिमा मुलुक जानको लागि छैन ।
खाडी राष्ट्रहरुमा नियम कानुन कडाइका साथ लागु हुन्छ त्यसैले यहाँ सुरक्षा स्थिति एकदमै बलियो छ । हामी हाम्रै देशमा अहिले गोजीमा दुई चार हजार बोकेर निर्धक्क हिंड्न सक्दैनौं ,तर यहाँ पारदर्शी झोलामा करोडौं रुपैया बोकेर हिंड्नुस कसैले केही गर्ला भन्नुपर्दैन । हाम्रो देशमा दिन दहाडै चेलीबेटीहरुको बलात्कार र हत्या भइरहेको कहालीलाग्दो अवस्थामा यहाँ रहेका नारीहरुलाई त्यो कुनै पीर छैन, आफैंले बाटो बिराउनु अलग कुरा नत्र यहाँ मध्ये राती १२ बजे एक्लै सडकमा हिंडे पनि कसैले सुसेल्ने आँटसम्म गर्न सक्दैन ।कुनै व्यापार व्यवसाय गर्नुस् , चुल्ठे मुन्द्रे र पुलिसलाई हप्ता बुझाउन पर्दैन । कुनै दुर्घटना भयो इन्स्योरेन्सले बेहोर्छ । हर हिसाबले खाडी सुरक्षित छ ।
नेपालको अहिलेको अर्थतन्त्र रेमिटेन्समा टिकेको छ र जसको प्रमुख श्रोत यिनै खाडी बस्ने कामदार नै हुन् । मैले पश्चिमा मुलुकमा बस्ने नेपालीहरुलाई अन्यथा भन्न खोजेको हैन तर समाजले उपल्लो दर्जाको सम्झने पश्चिमाबासीहरुले नेपालमा खासै पैसा पठाउँदैनन ,त्यो उनीहरुको वाध्यता पनि हो ,किनकि शुरुको केही वर्ष उनीहरु त्यहाँ स्थापित हुनलाई लागि पर्छन् ,जब स्थापित हुन्छन् तब सबै परिवार उतै गएर बस्छन्। मुलुक पैसा पठाउन खासै जरुरत पर्दैन। खर्चको मात्रा पनि उतै बढ्छ । त्यस हिसाबले महिनैपिच्छे पैसा पठाउने भनेका यिनै खाडीका कामदार नै हुन् ।
अहिले हरेक नेपालीको हातमा मोबाइल छ चाहे त्यो ओलाङचुगोलामा बस्ने नेपाली होस् या चाँदनी दोधारामा बस्ने। सबैका श्रीमतीले हातमा सामसुङ htc आइफोन बोकेर हिंड्न पाएका छन्  नहुर्केका सन्तान बोर्डिङ पढ्न पाएका छन् ,हुर्केका सन्तान ल्यापटप ट्याब्लेट बोकेर महँगो कलेजमा राम्रो उच्च शिक्षा लिन पाएका छन् ।बुढा बा आमाहरुले कोरियन ब्ल्याङ्केट ओढेर ३२ इन्चको led टिभिमा संस्कार र आस्था च्यानल हेर्न पाएका छन् । यो सबै सम्वृद्धिका नायकहरु पनि यिनै सबैले दुत्कार्ने खाडीबासी नै हुन् ।

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top