वैशाख ३ | भरत प्रधान
आँधीखोला अनलाईन
साउदी अरब–छुरा प्रहारबाट घाइते भई अस्पताल भर्ना भएका साउदी अरबका लागि नेपाली कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मालाई डिस्चार्ज गरिएको छ ।
छुरा प्रहारबाट मुख, काँध र औँलामा गम्भीर चोट लागेका शर्मालाई उपचारपछि बिहीबार साँझ डिस्चार्ज गरिएको दूतावासका द्वितीय सचिव विजय राउतले जानकारी दिए । राउतका अनुसार शर्माको काँध र मुखमा टाँका लगाइएको छ । उपचारपछि कावा राजदूत शर्माको अवस्था अहिले सामान्य रहेको उनले बताए ।
शर्मालाई बिहीबार बिहान करिब ११ बजे दूतावासकै आश्रयमा बस्दै आएका सुनसरीका लक्ष्मणबहादुर राईले उनको कार्यकक्षमै गएर छुरा प्रहार गरेका थिए । शर्माको कार्यकक्षको ढोकाको चुकुल लगाएर सोफाले थुनेर आक्रमण गरिएको थियो । राई कार्यकक्षमा प्रवेश गरेर एक्कासि आक्रमण गर्न थालेपछि शर्मा चिच्याएका थिए । शर्मा चिच्याएको सुनेपछि दूतावासका कर्मचारीको सहयोगमा साउदी प्रहरीले ढोका तोडेर तुरुन्तै उनलाई उद्धार गरेको थियो ।
