स्याङ्जा
२७ चैत्र , माझकोट शिवाल
पछिल्लो समय सूचनासंचारको विकासक्रम संगै कृषिमा पनि विभिन्न प्रविधीहरु र नौलो खेतीहरु भित्रिदै आएरहेको छ ।कतिपयलाई भुई स्याउको बारेमा थाहा पनि नहोला । हामीले प्राय रुखको बोटतिर मात्रै देख्दै आएको र थाहा पाउँदै आएको स्याउ भुईमा पनि फल्छ भन्दा आश्चर्यमा नपर्नु । नेपालमा पनि यसको खेती सुरु भैसकेको छ । भुई स्याउको खेतीमा यतिबेला स्याङ्जा माझकोटका कृषकहरु निकै आकर्षित हुँदै आईरहेको छ । केही वर्ष अगाडि माझकोट २ राम्चेका युवा किसान नरेश गुरुङले सुरुवात गरेको यो खेती अहिले माझकोट १,२ र ६ वडामा बिस्तार भएको छ ।
सुर्यमुखीको बोट जस्तै देखिने भुई स्याउ जमिन मुनि फल्दछ । साखरखण्डलाई जस्तै बोक्रा ताछेर खाँदा भुई स्याउ एकदमै स्वादिलो हुने कृषक गुरुङले बताए । यो स्याउको खेती लगाएकै वर्ष फल दिने गर्दछ ।भुई स्याउले पत्थर, मधुमेह, जण्डिस र कब्जियतका रोगलाई फाईदा हुने बताईन्छ ।
एउटा बोटबाट १५ देखि २० केजीसम्म उत्पादन दिने गरेको यस क्षेत्रमा यसको खेती गरीरहेका कृषकहरु बताउँछन । माझकोटको ३ वडा गरी हाल ५ रोपनी क्षेत्रमा भुई स्याउको खेती गरिरहेको र अर्को वर्ष यसलाई १० रोपनीसम्म पुर्याउने कृषक नरेश गुरुङले बताए । आर्गनिक रुपमा उत्पादन गरिएको भुई स्याउमा फलाम, क्याल्सियम, सोडियम, पोटासियम, म्याग्नेसियम , क्लोरिन, भिटामिन ए र बी साथै गुलकोजको मात्रा पाईने भएकोले स्वास्थ्यको लागि फाईदा हुने बताईन्छ । यसको पातबाट हर्बल चिया, फलबाट जुस , सिपर ब्रान्डी र रक्सी पनि उत्पादन हुने भएकोले बजारको खासै समस्या नरहेको कृषकहरुको भनाई रहेको छ ।
