काठमाडौं, भदौ १९। बारा र रामेछापमा देखिएको संक्रमण स्वाइन फ्लू भएको पुष्टि भएको छ । बाराको नरही गाविसअन्तर्गत इटहर गाउँमा १२ जनामा स्वाइन फ्लूको सङ्क्रमण भेटिएको छ ।
पन्ध्र दिनअघि यो गाउँका बालबालिका र वृद्धवृद्धालाई ज्वरो आएपछि उपचार गराउँदासमेत निको नभएको र १६ जनाको विस्तृत स्वास्थ्य परीक्षण गर्दा १२ जनामा स्वाइन फ्लू लागेको पाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले जानकारी दिनुभयो ।
जिल्ला अस्पताल रामेछापमा लामो समयसम्म बिरामीलाई निको नभएपछि परीक्षणका लागि आठजना बिरामीको रगत टेकु अस्पताल ल्याइएकोमा दुई जनामा एचवान एनवान अर्थात स्वाइन फ्लु देखिएको हो ।
अस्पतालमा आएका विरामीमा कडा ज्वरो देखिएपछि विश्व स्वास्थ्य सङ्गठनका चिकित्सक डा सुवास पाठक र डा सुवास न्यौपानेले जिल्ला अस्पताल सहित तामाकोसी सहकारी अस्पताल मन्थली, प्राथमिक स्वास्थ्य केन्द्र, रामेछाप सामुदायिक अस्पतालमा भर्ना भएका विरामीको नमुना अनुशन्धान सुरु गरेका थिए ।
विरामी बढ्दै गएपछि जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जिल्ला अस्पतालका चिकित्सक, विश्व स्वास्थ्य सङ्गठनका चिकित्सक र अस्पताल सञ्चालक समितिका पदाधिकारी सहितका टोलिलाई परिचालन गरेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत लामिछानेले रामेछापको संक्रमण एचवानएनवान एन्फ्लुएन्जा भएपनि आत्तिनु नपर्र्ने बताउनुभयो ।उहाँले यस्तो बेला सर्तक रहदै संक्रमित विरामीसँग हात नमिलाउन र विरामीले प्रयोग गरेका सामाग्री प्रयोग नगर्न आग्रह गर्नुभयो । रोगको पहिचान भएपछि काठमाडौंबाट रामेछापमा थप औषधि पठाईएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।