यूएई, १ सेप्टेम्बर, २०१४
लाहूरेसँग विहे गर्दिन्छु भन्थे दाजुले
मलाई आफ्नो बनाए गायक राजुले
विगतका प्रेम–प्रसंगका पोलहरु खोला–खोल गरिरहदासम्म परिवेश निकै तातिसकेको थियो । खुट्टा टेक्ने ठाउँसमेत नहुने गरी दर्शकहरुको भीडले खचाखच भरिएको हल उचालिएलाझैं गरेर बुरुक–बुरुक उफ्रिरहेको आभाष हुन्थ्यो । सँगै बाँच्ने र सँगै मर्ने कसम खाएर जीवनयात्राको बाटोसमेत एउटै बनाइसकेका दम्पती द्वय गायक राजु ढकाल र गायिका देवी घर्ती मगरले गीतमार्फत अतितका आफ्ना प्रेम–प्रसंग बताउन कुनै कसर बाँकी नराख्दा कसैले आफ्ना उस्तै प्रसंगहरु सम्झे होलान् । बहुरंगी भन्दा राता पहिरनको बाहुल्यतामा उपस्थित प्रवासी नारीहरुको पीडा र वेदनाको कुनै गुञ्जायस देखिएन । संगीतमय त्यो माहोलमा मनोरञ्जन लिइरहेका मनहरु हर्षोल्लासमा ननाचिरहन सकेन । संगीतको तालमा नथाकुञ्जेल पसिनै काढ्दासम्म नाचिरह्यो ।
नौ महिना कोखमा राखी मलाई जन्मायौ,
हुर्कायौ, बढायौ, अर्कैलाई अन्मायौ
यस्तै रै’छ कर्म
यसपालि नि आउन पाइन आमा, म त मै जन्मेको घरमा ।
नारी वेदनामा निर्लिप्त भएर संगीतबद्ध यो तीज गीतमा गायिका घर्ती गुञ्जन थाल्दा हलमा केही समय सन्नाटा छाएको थियो । यूएईमा स्थानीय गायकका रुपमा परिचित गोपीकृष्ण पंगेनीले आफ्नो एल्बम ‘म त परदेशी’ को ‘तिम्रो चोली फेर्न नि सकिन, झुत्रै ला’को हेर्न नि सकिन...’ बोलको गीत गाइरहदा पनि हल हल्लिएन, बरु भावुकतामा डुब्यो । अर्का यूएईका स्याङ्जाली गायक हरि डुम्रेले ‘हारे घर ज्वाई नै बस्न राजी’ भन्दै बाजी ठोकेरै गीत गाउने उर्दी जारी गर्न थालेपछि फेरि हलमा सांगीतिक उष्णताले उत्कर्ष चुम्यो । छविकिरण भट्टराई, सुदीप गैह्रेलगायतका स्थानीय गायकहरुको गायन प्रस्तूतिले उष्ण उचाई कायम राखिरहदा दीपक गुरुङ्ग र नायकका रुपमा समेत अभिनय गरिसकेका भुवन थापा मगरको नृत्य प्रस्तूति पनि कम्ती मनोरञ्जक थिएन ।
स्याङ्जा सहयोग समाज, यूएईले आयोजना गरेको ‘तीज विशेष सांगीतिक कार्यक्रम–२०१४’ गत अगस्त २९ तारिक शुक्रबारका दिन बर दुबईमा सम्पन्न भएको छ । समाजका अध्यक्ष राजु पाण्डेको सभापतित्व तथा यूएईका लागि नेपाली दूतावासका महामहिम राजदूत धनञ्जय झाको प्रमूख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम होटल अस्टोरियाको सभाहलमा भएको थियो ।
‘हाम्रो स्याङ्जा, हाम्रो गौरव’ भन्ने नाराका साथ सद्भाव, सहकार्य र सहयोगबाट आपसी भाइचारा कायम गर्न यूएईवासी प्रवासी स्याङ्जालीहरु संगठित भै स्थापना भएको समाजले हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा यो कार्यक्रमको आयोजना गरेको हो । प्रवासमा रहदा पनि प्रवासीहरु आफ्नो रीतिरिवाज, धार्मिक संस्कृति, परम्परा र पर्वलाई उत्तिकै मायाँ गर्छौं भन्ने उद्घाटित मान्यतालाई बढावा दिदै प्रवासमा पनि स्वदेशको झल्को दिने र संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यका साथ यो कार्यक्रम गरिएको हो ।

नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु राजु ढकाल तथा देवी घर्ती मगर साथै समाजका संस्थापक अध्यक्ष तथा संरक्षक चन्द्र रोकाहाको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक कृष्णप्रसाद न्यौपानेले स्वागत मन्तब्य दिएका थिए । झण्डै २ दर्जन बढी यूएईका सामाजिक तथा वैचारिक संघ–संस्थाहरुका प्रतिनिधि एवं पत्रकारहरुको समुपस्थिति रहेको कार्यक्रममा समाजका बुद्धिजीवी विभाग प्रमूख एकेन्द्र थापा र संस्थापक एवं संरक्षक चन्द्र रोकाहले समाजलाई शुभकामना दिएका थिए । मन्तब्यकै क्रममा महामहिम राजदूत झाले दूतावासमा हालै नेपालबाट ३३०० भन्दा बढी एमआरपी प्राप्त भएको जानकारी दिदै एमआपीका आवेदकले दूतावासको वेवपेजबाट आफ्नो एमआरपी आए नआएको चेक गरी समयमै एमआरपी लिन आउन आग्रह गरे । मन्तब्यकै क्रममा बोल्दै झाले खाडी मुलुकहरुमा महिला घरेलु कामदार ल्याउन प्रतिवन्ध रहेको जानकारी दिदै सो कामका लागि कोही कसैलाई नआउन तथा नल्याउन सुझाव दिए । घरेलु कामदारमा आएका महिलाहरुले विभिन्न समस्या भोग्नुपरेकाले रोक लगाइएपनि नेपाली महिलाहरुलाई विभिन्न प्रलोभनमा फकाएर उक्साएर विभिन्न बाटो हुदै ल्याउने पठाउने क्रम नरोकिएकाले यूएईमा बसेर घरेलु महिला कामदार ल्याउनका लागि दलाली गर्नेहरुलाई दूतावासले कडा कानुनी कारबाही गर्ने झाले बताए ।
कार्यक्रममा सम्मानित ब्यक्तित्व तथा समाजलाई विभिन्न क्षेत्रबाट योगदान पु¥याउने ब्यक्ति तथा संस्थाहरुलाई सम्मानपत्र तथा प्रशंसापत्र प्रदान गरिएको थियो । पाँचसयभन्दा बढी दर्शकहरुको उपस्थिति रहेको कार्यक्रमलाई सभ्य, भब्य र मर्यादित ढंगबाट सफलीभूत पार्न सहयोग गर्ने सबै प्रायोजक, दर्शक, कलाकारलगायत सहयोगी सबैलाई संस्थाका अध्यक्ष राजु पाण्डेले धन्यवाद ज्ञापन गरेका थिए ।
विभिन्न गीत, संगीत, नृत्य तथा साहित्यिक वाचनसमेत प्रस्तूत भएको कार्यक्रमको औपचारिक सञ्चालन समाजका सचिव रामबहादुर गुरुङ्गले गरेका थिए भने सांगीतिक चरण धनेन्द्र मास्के मगर र नारायण न्यौपानेले निकै रोचक ढंगबाट गरेका थिए ।