काठमाडौं : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कांग्रेस एमालेले आफै भागबन्डा लगाएर सभासद् मनोनित गरेको आरोप लगाएका छन्।शुक्रबार संसद्को बैठकमा बोल्दै प्रचण्डले सरकारले बलमिच्चाइ गरेर २६ सभासद्को मनोनयन प्रक्रिया अघि बढाएको आरोप लगाए।
'सरकार आफैले भागबण्डा गरेर २६ सभासद् नियुक्त गर्न थालेको छ, यस कार्यले सरकार सहमतिका लागि तयार नभएको सबैभन्दा ठूलो उदाहारण हो, उनले भने। प्रचण्डले शुक्रबार बिहान आफुलाई प्रधानमन्त्री सुशील कोइरालाले फोनमार्फत ४ जनाको नाम माग गरेको जानकारी दिदै भने, 'मैले आइतबारसम्म कुर्न आग्रह गरेको थियो। तर कुर्ने काम भएन। यस्तो तालले कसरी सहमति हुन्छ?
प्रचण्डले कांग्रेस एमालेका कारण मुलुक ठूलो दुर्घटनातर्फ उन्मुख भएको बताएका छन्। उनले भने, कांग्रेस एमालेको सोचले मुलुकमा संविधान बन्नेवाला छैन। देश ठूलै दुर्घटनातिर उन्मुख भएको छ।' उनले चारवुँदे सहमति कार्यान्वयमा कांग्रेस एमाले इमान्दार नभएको आरोप लगाए। उनले चारबुँदे सहमतिअनुसार उच्चस्तरीय राजनीतिक समिति तथा सत्यनिरुपण तथा मेलमिलाप आयोग बन्न नसकेको बताए। 'कांग्रेस एमालेका पछिल्ला बोली व्यवहारले संविधान निर्माण र शान्ति प्रक्रिया अघि बढाउन उनीहरू संवेदनशील छैनन् भन्ने देखाउँछ।'
प्रचण्डले कांग्रेस एमालेको उदासिनताका कारण समयमा संविधान नबन्ने स्थिति बनिरहेको बताए। 'पहिले संविधानसभा विघटन हुनुमा उनीहरू नै जिम्मेवार थिए।