शुक्रबार पौष २९
jan 13,2017
स्याङ्जा: स्याङ्जामा उत्पादित कफी जापान निर्यात हुनेक्रम बढेको छ । विगतका वर्षमा १० टन कफी जापान निर्यात हुँदै आएकोमा चालू वर्षमा १५ टन पुर्याउने लक्ष्य राखिएको छ । जापानमा कफी उत्पादन नहुने र अन्य मुलुकबाट आयातित कफीको तुलनामा नेपाली कफीको माग बढेपछि निर्यात बढ्ने भएको हो ।
कफी जापान निर्यात हुन थालेपछि कफी खेतीप्रति कृषकको आकर्षण बढ्दा उत्पादनमा समेत वृद्धि भएको छ । गत वर्ष झन्डै ४१ टन ड्राई पार्चमेन्ट कफी उत्पादन भएकोमा यस वर्ष उत्पादन वृद्धि भएर ५० टन पुग्ने भएको छ । फ्रेस चेरी २ सय टनबाट बढेर २ सय ५० टन पुग्ने जिल्ला कफी व्यवसायी संघले जनाएको छ ।
“जैविक प्रविधिमा आधारित उत्पादित कफीको गुणस्तर बढी हुने भएपछि जापानमा निरन्तर कफी निर्यात हुँदै आएको छ,” कफी व्यवसायी संघका अध्यक्ष फणीनारायण अर्यालले भने, “आम्दानीको राम्रो र भरपर्दो स्रोत भएकाले कफी उत्पादक कृषकको संख्या र उत्पादनमा वृद्धि हुँदै आएको छ ।”
उत्पादनको करिब ७० प्रतिशत हिस्सा आन्तरिक बजारमा खपत हुँदै आएको कफीको हाइल्याण्ड कफी प्रशोधन केन्द्रले बिक्री गर्दै आएको छ । २ टनबाट सुरु भएको कफी जापान निर्यात बर्सेनी बढ्दै गएको छ । स्याङ्जाको कफी गुणस्तरीय बनाउन जाईकाले स्वयम्सेवकसमेत खटाएको छ ।
“अर्गानिक कफी उत्पादनलाई बढवा दिन र रोग किरा नियन्त्रण गर्न हामीलाई जाईकाले बगैंचाको हेरचाह गर्न खटाएको छ,” चार स्वयंसेवक टोलीको नेतृत्व गरेका जापानी नागरिक सीगे युकीले भने, “जापानले आयात गर्ने कफी मध्ये नेपालको कफी गुणस्तरीय र स्वादिष्ट छ ।” पछिल्लो समय रोगबाट कफी संक्रमित भएकाले रोग किरा नियन्त्रण गर्न जरुरी रहेको उनले बताए ।
स्याङ्जाका ३ हजार ५ सय कृषकले २ सय ७३ हेक्टरमा कफी खेती गर्दै आएको संघले जनाएको छ । संघका अनुसार फ्रेस चेरीको प्रतिकिलो ९३ रुपैयाँमा गत वर्ष बिक्री भएकोमा यस वर्ष १ सय ३ रुपैयाँ मुल्य निर्धारण गरिएको छ । राम्रो मूल्य पाइने भएपछि कफी कृषक र उत्पादनमा बर्सेनि वृद्धि हुँदै गएको छ ।
“गत वर्ष ड्राई पार्चमेन्ट बिक्रीबाट २ करोड ५ लाख भित्रिएको जिल्लामा चालू वर्ष २ करोड ७० लाख भित्रने अपेक्षा गरेका छौं,” अगुवा कफी कृषक बोधराज अर्यालले भने, “फ्रेस चेरी बिक्रीबाट १ करोड ८२ लाख रुपैयाँ पाएका कृषकले चालू वर्षमा २ करोड ६० लाख रुपैयाँ पाउने छन् ।” जिल्ला कृषि विकास कार्यालय र चिया तथा कफी विकास बोर्डको सहयोगमा पकेट क्षेत्रमा गत वर्ष १ लाख ५० हजार कफीको बिरुवा रोपण गरिएको थियो ।(कृषि कारोबारबाट )साभार
