भारतीय प्रधानन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण आज र भोलि काठमाडौँ उपत्यकाका विद्यालयको पढाइ प्रभावित हुने भएको छ । खासगरी काठमाडौँ र ललितपुरका विद्यालय प्रभावित हुने भएका छन् । औपचारिकरूपमा विद्यालय बन्दको निर्णय भने गरिएको छैन ।
दुईदिने भ्रमणका लागि मोदी आज ११.१० बजे काठमाडौँ आइपुगेका छन् । सुरक्षा व्यवस्थापनमा सहयोग गर्न आज र भोलि यस क्षेत्रमा विद्यालय बन्द गर्न जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालयले मौखिकरूपमा आग्रह गरेपछि विद्यालयहरू स्वतःस्फूर्त बन्द हुन थालेका छन् ।
कतिपय ठाउँमा विद्यालय पुगिसकेका विद्यार्थी पनि घर फर्केका छन् । सवारीसाधन हुने संस्थागत विद्यालयलाई आवागमन गर्न थप कठिनाइ देखिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का अध्यक्ष लक्ष्यबहादुर केसीले विद्यालयले यस अवस्थालाई बुझेर सहजरूपमा सघाउने विश्वास लिए ।
