१६ भदौ, विगत १९ दिनदेखि जारी अनिश्चितकालीन मधेस बन्दको कारण महोत्तरीको जनजीवन अत्यन्तै कष्टकर बनेको छ ।
बन्दको कारण खाद्यवस्तु, पेट्रोलियम पदार्थ र औषधि अभावसमेत सिर्जना भएको छ ।

बन्दका कारण जिल्लामा खाद्य सङ्कट उत्पन्न हुन थालेको छ भने लुकाइछिपाइ बिक्री गरिने खाद्यवस्तु र पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ । त्यस्तै जिल्लामा बाहिरबाट आवश्यक औषधिसमेत आउन छाडेपछि विरामीहरु थप मर्कामा परेका छन् ।
बन्दको मारमा सबभन्दा बढी दैनिक रोजगारी गरेर जीवनयापन गर्ने मजदुर परेका छन् । उनीहरुले कति दिनदेखि पेटभरि खान नपाएका गुनासो समेत गरेका छन् । सहर बजारमा बस्नेले बजार खुल्ला नभएका कारण पैसा भएर पनि आवश्यक वस्तु खरिद गर्न सकेका छैनन् ।