मुगुको प्रहरी चौकीमा ढुङ्गामुढा सहित आक्रमण, पाँच प्रहरी घाइते

Unknown
0
१६ भदौ, मुगु ।
गाउँको चलनचल्तीअनुसार नचलेको भन्दै जरिवाना तोकेका व्यक्तिलाई प्रहरीले संरक्षण गरेको आरोप लगाउँदै मुगु गाउँका गाउँलेले सीमा प्रहरी चौकी मुगुमा गएराति ढुङ्गामुढा गरेका छन् ।
जिल्ला वन कार्यालयबाट कटुकी सङ्कलन पुर्जी लिएका जुम्ला जिल्ला विजय नगरटोल घर भएका सङ्कलक ठेकेदार केसीबहादुर भण्डारीका स्थानीय सम्पर्कवाला मुगु–८ मुगु गाउँका नुन्डुल लामा र सोही गाविस वडा नं ५ का सोनाम लामाले स्थानीय समुदायभन्दा बाहिरका जुम्ला र जाजरकोटका सङ्कलक ल्याएर आफ्नो वनमा जथाभावी जडीबुटी सङ्कलन गरेको र सङ्कलनको बहानामा घोर चोरी सिकारी गरेको भन्दै गाउँलेको बैठकले जरिवाना तोकेपनि तोकेको जरिवाना तिर्न सम्पर्कवालाले नमानेपछि गाउँलेले मङ्गलबार दिउँसो उनीहरुका घरमा तोडफोड र कुटपिट गर्न थालेपछि दुवैलाई सुरक्षा दिन प्रहरी चौकीमा राखिएकोमा राति २००-३०० जना गाउँले आएर चौकीमा ढुङ्गामुढा गरेका थिए ।
ढुङ्गामुढाले सीमा प्रहरी चौकीका झ्यालढोका, पर्खाल भत्काइएको र तोडफोड गरिएका छन् । ठूलो सङ्ख्यामा आएका गाउँलेको प्रतिकारबाट बच्न प्रहरीले ११ राउन्ड हवाइ फायर गरेको र गाउँलेको प्रहारबाट प्रहरी सहायक निरीक्षक रुद्र रावल सहित पाँचजना प्रहरी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक श्रीहजुर सिलवालले बताए ।
रातभरि तनाव भएपछि गएराति ८ बजे नै प्रहरी निरीक्षक मित्रप्रसाद आचार्यको नेतृत्वमा थप १५ जना प्रहरी पठाइएको छ । टोली घटनास्थलमा पुगेपछि स्थलगत मुचुल्का उठाउने र प्रहरी चौकीमा ढुङ्गामुढा गर्न गाउँलेलाई उक्साउने टासी तामाङ, च्यावा तामाङ, पाल्जिर तामाङ, तेन्जिङ तामाङ र पाल्जोर तामाङलाई नियन्त्रणमा लिने र स्थितिलाई सामान्य बनाउन गाउँमा प्रहरीले सहजीकरणको काम गर्ने पनि प्रनाउ सिलवालले बताए ।
ठेकेदार भण्डारीका अनुसार जिल्ला वन कार्यालयबाट राष्ट्रिय वनमा कटुकी सङ्कलनको वैधानिक रुपमा पुर्जी लगेर जडीबुटी सङ्कलन गरेको र राष्ट्रिय वनलाई सामुदायिक वन जस्तो गरेर आफ्ना मान्छेबाट गाउँलेले जरिवाना उठाउन खोजेको र आफूहरुले दोहोरो दस्तुर तिर्न नमानेपछि सुनियोजित रुपमा आक्रमण गर्न थालेपछि स्थिति तनावपूर्ण भएको हो ।
मुगु गाउँस्थित राष्ट्रिय वनमा ८० क्विन्टल कटुकी सङ्कलन गर्न ठेकेदार भण्डारीले सङ्कलन पुर्जी लिएको जिल्ला वन कार्यालयले जनाएको छ ।
घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट २८ कोस पूर्वमा पर्दछ भने पैदलमा दुई दिन लाग्छ । रासस

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top